प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकालाई साधारण सदस्यबाटै हटाउने ओलि पक्षको चेतावनी

kp_sharma_oli

साउन ६, काठमाण्डौ ,

नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ ।
स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।
यस्तै पार्टीविरुद्ध भ्रम फैलाएको, गोपनीयता भङ्ग गरेको लगायतका कसुर गरेकाले तपाईँलाई पार्टीको जिम्मेवारीलगायत साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोधिएको छ ।
२४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिएमा कारबाही हुने पनि एमालेले चेतावनी दिएको छ । केपी शर्मा ओली पक्षका आठ जनासहित २२ सांसदले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।