गण्डकीमा कांग्रेसले दलित समुदायप्रति अपमान गरेको नेता शेखर कोइरालाको भनाई

sekhar

साउन १०, कास्की,

कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु पार्टीले गरेको अक्षम्य भूल भएको बताउनुभएको छ । उहाले दलित समुदायको प्रतिनिधित्त्वलाई लत्याइनु दुर्भाग्यपूर्ण र दलित समुदायप्रतिको अपमान भएको टिप्पणी गर्नुभएको छ ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बिस्तारका क्रममा अन्तिम समयमा विश्वकर्माको नाम काटेर पोखराका व्यवसायी विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो ।

सामाजिक कुरीतिकाविरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखित बनाएको नेता कोइरालाले बताउनुभएको छ ।

‘सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्त्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ,’ आइतबार उहाँले फेसबुकमा लेख्नुभएको छ ‘भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’

सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभइ व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको टिप्पणी उनले गरेका छन् । उनले लेखेका छन्– ‘बीपी स्मृति दिवस मनाउँदै र बीपीको तस्बिरमा चढाएको फूल नओइलिँदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ ।’

आगामी दिनमा यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महँगो पर्न सक्ने भएकोले हेक्का राख्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।