पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता

Shrestha-Umesh

साउन १८, काठमाण्डौ,

सरकारले पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता भएको बताएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमवार महामारी नियन्त्रणका लागि नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै पाँच करोड २३ लाख डोज खोप सुनिश्चित भएको जानकारी गराउनुभएको हो ।

उहाँले असोज मसान्तभित्रमा थप १ करोड २ लाख गरी दुई करोड डोज खोप आइसक्ने भन्दै आउँदो चैतसम्म १२ वर्षभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप नेपालमा प्राप्त भएको र ६२ लाख १८ हजारभन्दा धेरै मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । यस्तै पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको एस्ट्राजेनेका खोप प्राप्त हुनासाथ तीन दिनभित्र वितरण गरिने उहाँले बताउनुभयो ।