सरकारी र निजी अस्पतालमा अक्सिजन व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने

oxijan

बैशाख ३१, काठमाण्डौ,

काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ।

कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो। हिजो मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजबाट आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय आज देखि लागू हुने स्वाथ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। अब मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार स्वास्थ्य मन्त्रालयले व्यवस्थापन मिलाउने छ।

यसअघि यो काम सीसीएमसीले गर्दै आएको थियो। सहज अवस्थामा भने अस्पताल आफैंले अक्सिजनको जोहो गर्थे। अक्सिजनको अभाव सुरु भएपछि सीसीएमसीले अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण गरेको थियो। बैठकले स्वास्थ्य मन्त्रालयलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।
निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने निर्देशन आजबाट स्वास्थ्य मन्त्रालयले जारी गर्ने छ।