गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

गण्डकी-प्रदेशसभामा

जेठ १७, कास्की,

गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ ।

सोमबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले अघि सारेका विकास, सुशासन र समृद्धिको मार्गमा देखापरेका असरलाई निराकरण गर्दै प्रादेशिक अर्थतन्त्रलाई गतिशील बनाउन केन्द्रित हुने बताउनुभयो ।

कोरोनाको दोस्रो लहरबाट हुने क्षति र असरलाई कम गर्न रोकथाम, नियन्त्रण र औषधोपचार तथा सबै नागरिकलाई खोप उपलब्ध गराउने व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याइने उहाको भनाई थियो ।

सङ्घ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वय र सम्बन्धलाई थप सुदृढ गरिने बताउँदै उहाँले ‘कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउँदै पुनः पहिलेको अवस्थामा फर्काउनेतर्फ लागिने बताउनुभएको छ ।

पूर्वाधार विकास, उत्पादनमुखी साथै गरिबी निवारणका कार्यक्रमलाई जोड दिइने मन्त्री गुरुङको भनाइ छ ।

उहाँले प्रदेशको राजश्व प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमा आधारित बनाई आन्तरिक आयलाई प्रदेशको आम्दानीको मूल आधारका रुपमा विकास गर्न जोड दिइने बताउनुभएको छ ।

त्यस्तै सार्वजनिक खर्चलाई व्यवस्थित गर्दै आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधन केन्द्रित गरिने मन्त्री गुरुङले बताउनुभयो ।