होम आइसोलेशनमा हुनुहुन्छ भने यि कुराहरुमा ध्यान दिनुहोस

home isoleson

बैशाख २३, काठमाण्डौ,

अहिले ६१ हजार ५ सय ८८ जना कोरोना सङ्क्रमित घरकै आइसोलेशनमा छन् । त्यस्तै ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेशनमा छन् ।

सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा बेड पाउने सम्भावना कम हुँदै गएको छ । यस्तो बेला सङ्क्रमितले घरमै बसेर पनि आफ्नो स्वास्थ्यमा ख्याल गर्दै उपचार गर्नुपर्ने हुन्छ । घरमा बसेका सङ्क्रमितलाई कोभिड उपचारमा संलग्न डाक्टर कवि राईको सुझाव ः

हल्का ज्वरो, सामान्य खोकी र जिउ दुखाइ भएका सङ्क्रमितले के औषधि खाने ?

कोरोना सङ्क्रमण भएको छ हल्का ज्वरो सामान्य रुघाखोकी र जिउ दुखाइको लक्षण देखिएको छ भने सबैभन्दा पहिले ज्वरो नाप्नुपर्छ ।

थर्मोमिटरमा ज्वरो नाप्दा ९९, ९८ डिग्री फरेनहाइट आउनुलाई सामान्य मानिन्छ । तर १०० डिग्री फरेनहाइट वा त्यसभन्दा माथि तापक्रम देखिएमा ५०० एमजीको पारासिटामोल वा बालबालिका भए सिटामोल खुवाउन सकिन्छ ।

के कस्तो खाना खाने ?

कोरोना सङ्क्रमणको समयमा दैनिकजसो खाइने साधारण खानेकुरा खाँदा हुन्छ । तर, चिसो खानेकुरा सकेसम्म खानु हुँदैन । कोभिडको समयमा प्रायः सबैलाई रुघाखोकी, चिसो लाग्ने भएकाले न्यानो, तातो, कम चिल्लो भएका खानेकुरा खानुपर्छ ।

परिवारका अरु सदस्यलाई सङ्क्रमण सार्न नदिन के–के मा सावधान हुने ?

परिवारका अन्य सदस्यलाई सार्न नदिन सकेसम्म बाहिर जानु हुँदैन । होम आइसोलेशनमा बस्नुपर्छ । अरुसँग बोल्दा दुई मिटरको दूरी कायम गर्ने, स्यानिटाइजर, मास्क लगाउने, आफूलाई सुरक्षित राख्न आफ्नै साथमा स्यानिटाइजर बोक्ने गर्नुपर्छ ।

होम आइसोलेशनमा बस्दा शौचालय जाँदा विशेष सावधानी अपनाउनु पर्छ । साबुपानीले हात धोइराख्ने र स्यानिटाइज गरी राख्नुपर्छ ।

घरमा कसैलाई भएको छ, अरुलाई भएको छैन भने अरुले पीसीआर गर्ने कि नगर्ने ?

घरमा एक जनालाई सङ्क्रमण भएको छ र अरुलाई लक्षण देखिएको छ भने पीसीआर गर्नुपर्छ ।

पहिला रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्थ्यो । अहिले लक्षण परिवर्तन भएका छन् । अहिले जिउ गल्ने, थकाइ बढी लाग्ने, पखाला लाग्ने, डाबर आउने, सास फेर्दा गह्रुँगो हुने जस्ता लक्षण देखिए पीसीआर परीक्षण गर्दा हुन्छ ।

बिरामीलाई के–के भयो भने स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने ?

बिरामीलाई ज्वरो आए, रुघाखोकी बढ्दै गए, छाती दुखे, सास फेर्न गाह्रो भए, शरीरमा डाबरहरु आए, जिउमा थकान भएमा वा पखाला लागेमा स्वास्थ्यकर्मीलाई देखाउनु पर्छ ।

के कस्ता लक्षणको घरमै उपचार गर्ने ?

सामान्य ज्वरो रुघाखोकी लागेमा थकान भएमा पोसिलो खानेकुरा खाने, आराम गर्ने, कन्ट्याक्टहरुबाट बच्ने, अरुसँग दूरी कायम गरेर केही लक्षणको घरमै पनि उपचार गर्न सकिन्छ ।

श्वास प्रश्वासमा समस्या देखियो, तर अस्पतालमा बेड पाइएन, के गर्ने ?

श्वासप्रश्वासमा समस्या देखियो तर अस्पतालमा बेड पाइएन भने नजिकका डाक्टरसँग सम्पर्क गर्नुपर्छ । पीसीआर परीक्षण गर्न नगर्नु छुट्टै कुरा हो । तर, यस्तो अवस्थामा बेड नभए पनि डाक्टरहरु उपलब्ध हुन्छन् । डाक्टरले श्वासप्रश्वासमा केही समस्या छ वा खराबी छ भने जाँचेर घरमै गर्न सकिने व्यवस्थान गराउँछन् ।

घरमै अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासको सम्या देखिए पल्स अस्कोमिटर नामक डिभाइसमार्फत अक्सिजनको मात्रा जाँच्न सकिन्छ । सामान्य मेडिकल किट्स जस्तै थर्मोमिटर लगायतबाट होम आइसोलेशनमा आफ्नो जाँच आफैँ गर्न सकिन्छ । ज्वरो आउँदा ज्वरो नाप्ने, सास फेर्ने गाह्रो भएमा अक्सिजनको मात्रा जाँच गर्न सकिन्छ । ३५ वर्ष वा त्यसभन्दा बढी उमेर भएकामा थकान लाग्ने समस्या देखिएमा घरपरिवारका सदस्यसँग दूरी कायम गरेर, मास्क लगाएर ब्लड प्रेसर जाँच गर्न सकिन्छ ।

शरीरमा अक्सिजनको मात्रा बढाउनका लागि भूइँमा वा खुट्टामा एउटा, पेटमा दुई वा तीन ओटा, टाउकोको छेउमा एउटा वा दुई वटा सिरानी राखेर घोप्टो परेर सुत्न सकिन्छ । साथै अत्यावश्यक अवस्थामा अक्सिजन सिलिन्डरको प्रयोग गर्न सकिन्छ ।
स्रोत ः उज्यालो अनलाईन