देशभरका विभिन्न स्थानमा बाढि पहिरोको वितण्डा, ७ जनाको मृत्यु, सयौँ घरपरिवार विस्थापित

baadhi

असार २, पोखरा,

आईतबारदेखि लगातार जारी वर्षाका कारण गण्डकी प्रदेशको राजधानि कास्की सहित देशभरका ३३ जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार लगातारको वर्षाका कारण ३३ जिल्लाका १०० भन्दा धेरै स्थानमा बाढी तथा पहिरोले क्षति पुर्याएको छ । बाढीका कारण अहिले सम्म विभिन्न जिल्लाका गरि ७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

तर विभिन्न स्थानमा बाढिले पुर्याएको क्षतिको यकिन तथ्याङ्क लिन पनि समस्या भएकोले मृतकको संख्या यो भन्दा अझ धेरै हुन सक्ने कार्यालयले बताएको छ ।

बाढिले बगाउँदा कास्किमा एक जना महिलाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसे भन्ने स्थानमा बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभएको हो । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

यसैबिच बाढीले बगाउँदा बुधबार पाल्पा र डोटी जिल्लाका १–१ जना,
सोमबार बाजुरामा २ जना तथा मंगलबार गोरखामा र सिन्धुपाल्चोकमा १–१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

बाढी र वर्षाका कारण यो समाचार तयार पार्दा सम्म १४ जना बेपत्ता भएको विवरण प्राप्त भएको पनि प्रहरीले बताएको छ । सिन्धुपाल्चोक
र जाजरकोटका गरि १४ जना बेपत्ता भएका हुन् ।

त्यस्तै वर्षासँगैको बाढीका कारण देशका विभिन्न ठाउँमा गरी १६५ वटा घरहरु डुवानमा परेका छन् । बाढीका कारण विभिन्न जिल्लाका गरि १०० भन्दा धेरै घरपरिवार विस्थापित भएका छन् भने सयौँ पशु चौपायाको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कास्कीको मादी १ स्थित मदनी खोलामा आएको बाढिको कारण हुगुमा रहेको भेडिगोठ सहित भेडिगोठमा रहेको ३ सय भेडा बगाएको त्यहाँबाट शुरज गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार तिन भेडा गोठाला भने सुरक्षित रहेका छन् । खराब मौसमका कारण उद्दारका लागि प्रहरी पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपि सुबास हमालले बताउनुभयो ।
यसैबिच
जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च भएकाले नदी किनारमा बाढी, डुबान हुने तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा पहिरो जान सक्ने हुँदा सचेत र सतर्क रहन अनुरोध गरेको छ । विपद्जन्य घटनाको उच्च जोखिम भएमा वा कुनै अप्रिय घटना घटेमा प्रशासनलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।