जसपामा महन्थ ठाकुरको अध्यक्ष पद खोसियो

Mahanta_thakur

साउन २५, काठमाण्डौ,

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गर्दै अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ ।

जसअनुसार केन्द्रीय कार्यकारिणी समिति ५१ बाट ३५ सदस्यीयमा झारिएको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम गरिएको छ । ठाकुरसहित उहाँ पक्षीय १६ जनालाई कार्यकारिणी समितिबाट पनि हटाइएको छ ।

आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्न बैठकको माइन्युटसहितका कागजात पेश गरेपछि अब ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेताको हैसियत साधारण सदस्यमात्र भएको छ ।

पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने आयोगका सचिव सुरेश अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।

गत वर्ष वैशाखमा यादव नेतृत्वको समाजवादी पार्टी र ठाकुर नेतृत्वको राजपाबीच रातारात एकीकरण गरिएको थियो । तर पछिल्लो पटक ओली सरकारलाई हेर्ने दृष्टिकोण बाझिएपछि यादव पक्षले पार्टी आफ्नो नियन्त्रणमा लिएको हो । जसपाकै नाममा ठाकुर पक्षले जिल्लाहरुका कार्यक्रम गरिरहँदा आयोगको अभिलेखमा भने उनीहरुको हैसियत साधारण सदस्यमा झारिएको हो ।