मेलम्चीमा फेरी बाढीको कहर, रातो पुल सहित १७ घरटहरा बगायो

rato pul

साउन १७, सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको मेलम्चीमा गएराति देखि फेरी आएको बाढीले रातो पुलसहित १७ घर टहरा बगाएको छ । चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित ९ वटा पक्की र ८ वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका गरी १७ घर बगेका छन् । बाढीले रेडियो मेलम्चीको भवन पनि ढलेको छ । गएको असार १ गते आएको बाढीले लेदो भरिएका घरहरु गएरातिको बाढीले बगाएको हो ।

helambu_flood

बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उहाँले बताउनुभएको छ ।

मेलम्चीबाट हेलम्बु सम्म गाडी जाने अवस्था नरहेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । रातो पुल मेलम्ची ७ र ८ त्यस्तै पाँचपोखरी १ र २ लाई हेलम्बुसँग जोड्ने एक मात्र विकल्पका रुपमा रहेको थियो ।

यसअघि गएको असार १ गते आएको बाढीले सडक बगाएका केही ठाउँमा नयाँ बाटो बनाइएको थियो । तर, बाढीले त्यो पनि बगाएको मेलम्ची नगरपालिकाका मेयर अर्यालले जानकारी दिनुभयो ।

हिजो बेलुका एक्कासि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।