आदिवासी जनजातिको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्छ : उपाध्यक्ष घर्तीमगर

216564567_4147552555326642_664607085439761634_n

असार ३१, कास्की,


आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले सबै आदिवासी जनजाति समुदायको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्ने बताउनुभएको छ ।


प्रतिष्ठानले बुधबार प्रदेश राजधानी पोखरामा आयोजना गरेको “आदिवासी जनजाति मगर समुदायको लोपोन्मुख अमूर्त संस्कृति कौराहा नाचको अभिलेखीकरण”सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष घर्तीमगरले लोपोन्मुख अमूर्त संस्कृतिको संरक्षणका लागि प्रतिष्ठानले सबैलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
आधुनिकीकरणका नाममा अमूर्त संस्कृतिको मौलिकता मर्न दिन नहुनेमा सचेत गराउँदै उहाँले समयानुकूल परिमार्जन हुन सक्ने भएपनि मौलिकता भने बचाउनुपर्ने बताउनुभयो । तीव्र कोरोना संक्रमणका कारण समयमा कार्यक्रम सम्पन्न गर्न नसकिएपनि ढिलै भएपनि आयोजित कार्यक्रमले मगर समुदायको अमूर्त संस्कृति कौराहा नाचको अभिलेखीकरणमा महत्वपूर्ण टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरले पछिल्लो समयमा आधुनिकताको नाममा कौराहा नाचको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । आलेमगरले कौराहा नाचको विविध पक्षका बारेमा कार्यपत्रमार्फत् चर्चा गर्नुभएको थियो ।
समितिका सचिव नन्दु थापामगरले मगर जातिको पहिचानका रुपमा रहेको कौराहा नाच आज आदिवासी जनजाति मात्र नभएर सबै नेपालीको सांस्कृतिक पहिचान बनेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले पनि कौराहा नाचका बारेमा बोल्नुभएको थियो । सो अवसरमा सहभागीहरूले अन्तरक्रियामा समेत सहभागिता जनाएका थिए ।