कास्कीमा कडाईकासाथ निषेधाज्ञा लागु गरिँदै

nised

जेठ १, पोखरा,

कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञामा कडाई गरिएको छ । यसअघिको निषेधाज्ञाको समय बैशाख ३१ गते सकिएको थियो । आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना संक्रमणको दर तिव्र रुपमा बढ्दै गएपछि स्थिति भयावह हुन् नदिन भन्दै निषेधाज्ञामा थप कडाई गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ ।

पोखरा बजार सहित जिल्ला भर नै बिना काम हिड्ने तथा कार्यस्थलमा जानका लागि हिड्ने मजदुरहरूलाई समेत रोक लगाइएको छ । कास्की प्रशासनले आजदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने भनी आदेश जारी गरेकाले कार्यस्थलमा जानका लागि भनेर हिँड्ने व्यक्तिलाई समेत रोक लगाइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रोकिएका विभिन्न व्यक्तिहरुलाई २ घण्टा होल्ड गराएर प्रशासनको आदेश र कोरोना संक्रमणको जोखिमको बारेमा सम्झाएर पठाएको उहाँले बताउनुभयो । प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरी सञ्चालन भएका १ सय ९७ सवारीसाधनलाई पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले कास्कीका विभिन्न १९ ठाउँमा चेक पोइन्ट स्थापना गरी चेक जाँचमा कडाइ गरेको बताउनुभयो । प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना नगर्नेलाई नियम अनुसार कडा कारबाही हुने समेत उहाँले चेतावनी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्मको समय तोकेको छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं सङ्कलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक बाहेक सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा पूर्णतया रोक लगाइएको छ ।

सरकारी प्राथमिकताप्राप्त आयोजनाका निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखा मात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवा मात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने तथा त्यहाँ कार्यरत कर्मचारीहरू परिचय पत्र र कार्यालय पोसाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म आवतजावत गर्न सक्ने बताईएको छ ।