शेयर बजारमा एकै दिन साढे १९ अर्बको कारोबार

Share_nepse_market

जेठ ३०, कास्की,

शेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले आइतवार फेरि नयाँ रेकर्ड बनाएको छ । आईतबार परिसूचक तीन हजार नजिक पुग्दा र साढे १९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो ।

नेप्से परिसूचक ३८ दशमलव २३ अङ्कले बढेर २९ सय ८३ दशमलव १० अङ्कमा पुगेको हो । यसअघि गएको हप्ताको मङ्गलवार नेप्से २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको थियो ।

आईतबार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यसअघि गएको २३ गते १७ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएर रेकर्ड कायम भएको थियो । कारोबार हुने हप्ताको पहिलो दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।