कोरोना संक्रमित मुक्त हुने दर ८० प्रतिशत भन्दा धेरै, गण्डकीमा थप १६ जनाको संक्रमणबाट मृत्यु

fight with corona

जेठ १८, पोखरा,

नेपालमा कोभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार दुई सय ८५ जनामा र तीन हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अब नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेको छ । अहिले नेपालमा एक लाख चार हजार सात सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये काठमाडौ उपत्यकाका एक हजार पाँच सय ५८ जना रहेका छन् । गएको २४ घण्टामा काठमाण्डौमा एक हजार ६० जना, भक्तपुरमा दुई सय १५ जना र ललितपुरमा दुई सय ८३ गरी एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा ६८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सात हजार चार सय ५४ पुगेको छ ।
यसैबिच
मंगलबार गण्डकीका ४७३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार १११ जनामा गरिएको नमुना परीक्षणमा थप ४७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । जसमध्ये कास्की जिल्लाका मात्रै २ सय १ जना रहेका छन् । गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ९९७ पुगेको छ ।

यस्तै सोमबार पनि गण्डकीमा थप १६ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीको पोखरामा उपचाररत विभिन्न जिल्लाका सात जना, तनहुँका दुई जना, नवलपुरका चार जना, स्याङ्गजाका तीन जना तथा पर्वत, बागलुङ र म्याग्दीका एकएक जना रहेका छन् । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको निर्देशनालयले जनाएको छ ।