प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्चमा परेका रिटमाथि बिहीवारदेखि सुनुवाइ हुने

sarbochha

जेठ ११, काठमाण्डौ,

प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटमाथि आउँदो १३ गते बिहीवारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेका रिटमध्ये अन्तरिम आदेशको माग राख्दै दर्ता भएका १९ वटा रिटको पेसी बिहीवारका लागि तोकिएको छ ।

यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको पेसी शुक्रवारका लागि तोकिएको छ । विपक्षी दलले दर्ता गराएका र अन्य केही रिटमा सिधै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएकाले सिधै संवैधानिक इजलासमै सुनुवाइ सुरु हुनेछ ।

३० वटा रिटमध्ये २६ वटा प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, चार वटा भने प्रधानमन्त्रीको कदम ठिक भएको चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका विपक्षी दलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेर पनि रिट दर्ता गराएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ भने सर्वोच्चमा पनि रिट परेका छन् ।