फेसबुक तस्बिरको प्रभाव : फेवाताल पुछारको फोहोर उठ्यो

pokhara 3

भदौ १, कास्की,

पर्यटकको प्रमुख आकर्षणको केन्द्र पोखरामा अवस्थीत फेवातालको पुछारमा थुप्रिएको फोहरको तस्वीर सामाजिक संजाल (फेसबुकमा) भाइरल भएपछि त्यस ठाँउलाई सफा गरिएको छ ।

गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय अगाडि फोहर थुप्रिएर बिजोग अवस्था बनेको थियो । फेसवुकमा सार्वजनिक सरोकारका विषय उठाउँदै तस्वीरहरु पोष्ट गर्नुहुने चर्चित अभियन्ता भीम उपाध्यायले फोहर सहितको तस्वीर आइतबार पोष्ट गर्नुभएको थियो ।

‘गण्डकी प्रदेश सरकारको उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय अगाडि कै खोलामा यस्तो बिजोग रहेछ ।’– उहाँले पोष्टमा लेख्नु भएको थियो ।

सामाजिक संजालमा तस्वीर भाइरल भएपछि मंगलबार गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले फेवाताल सिरानदेखि बगेर मन्त्रालय गेटमा आएको फोहोर सफा गरिएको जानकारी दिनुभएको छ ।

फेवाताल पुछारको नहरमा रहेको फोहर सफा गरिएको तस्वीरहरु मन्त्री आचार्यले फेसबुकमै पोष्ट गर्नुभएको छ ।

उहाँले फोहर सफा गर्नका लागि पोखरा महानगरपालिका कार्यालयले सहयोग गरेको भन्दै धन्यवाद दिनु भएको छ । फोहोर व्यवस्थापनका लागि दीर्घकालिन उपायको खोजी भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।