टोकियो ओलम्पिकको भव्य उद्घाटन (तस्वीरहरू सहित)

Gaurika-Alex-Final

एजेन्सी,
साउन ८, कास्की,

विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको उद्घाटन कार्यक्रम चलिरहेको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ ।

ओलम्पिक स्टेडियमको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेण्डर शाहले बोकेका छन् । दोस्रो पटक सहभागीता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह, एथलेटिक्सबाट सरस्वती चौधरी, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट गरी पाँच नेपाली खेलाडीले भाग लिँदैछन् ।

गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला एकसय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विश्वका २ सय ४ देशबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो ओलम्पिकमा सहभागी हुँदैछन् ।

विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो गरी भइरहेको हो । कोरोना महामारीले गत वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।