निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, थप कडाई गरिने

ktm

जेठ ११, काठमाण्डौ,

काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो ।

मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

थपिएको निषेधाज्ञा भित्र बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ भने किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत अब खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौले बताएको छ । यस्तै उपत्यकाका ३ जिल्लामा अब मर्निङ र इभिनिङ वाक गर्न समेत रोक लगाईने भएको छ । निषेधाज्ञाको उल्लंघन गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने बताईएको छ ।

गृह मन्त्रालयले निषेधाज्ञाको पालना गराउन र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ । गृह मन्त्रालयको विवरणअनुसार ७५ जिल्लामा पूर्ण तथा आशिंक निषेधाज्ञा लागू भएको छ । यता कास्कीमा आउँदो जेठ १४ गते सम्मकोलागि कडाईकासाथ निषेधाज्ञा जारि रहेको छ ।