शेयर बजारमा आज झन्डै ११ अर्ब रुपैयाँको कारोबार

nepse

साउन १८, कास्की,

हप्ताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको ४२ र लगानी समूहको शेयर दुई अङ्कले बढेको छ । होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर घटेको छ ।

आज सुरुमा बजार बढेर तीन हजार ९९ विन्दुसम्म पुगेको थियो । बजार खुलेको केहीबेर सम्म जलविद्युत् समूहको शेयर बढेर हरियाली छाए पनि बन्द हुने बेलामा घटेको छ ।

आज दुई सय २६ कम्पनीका दुई करोड १८ लाख कित्ता शेयर १० अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युतको ३७ करोड ७५ लाख र युनिभर्सल पावर कम्पनीको ३५ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।