जसपाबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका ३ जनाको सांसद पद गुम्यो

jasapaaa

साउन १५, बुटवल,

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ ।

प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् ।

उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा (उपेन्द्र यादव पक्ष)को ह्विप उल्लंघन गरेर पक्षमा मतदान गरेका थिए । यही कारण जसपा कार्यकारिणी समितिको बैठकले असार ३ गते उनीहरु तीन जनासहित सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको थियो । रायमाझीले आफू पार्टी संस्थापन पक्षतर्फ लाग्ने बताएकाले उनलाई कारबाही गरिएन ।

तर, बाँकी तीन जनाले त्यो बेला स्पष्टीकरण दिए पनि त्यसपछि पनि सरकारबाट फिर्ता हुन पार्टीले दिएको निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको बताइएको छ ।