फेवा सिटी हस्पिटल प्रकण : अस्पताल र मृतकका परिवार बिच सहमति, शल्यक्रियामा त्रुटि नभएको डा.घलेको दावि

andolan

साउन ९, कास्की,

कास्की पोखराको नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि आन्दोलित मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ । विहीबार बेलुकी सविनाको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि दिनभरजसो आफन्त नाराबाजीमा उत्रेका थिए । दुई पक्षबीच शुक्रबार बेलुकी सहमति जुटेको हो ।

अस्पतालका तर्फबाट प्रबन्धक त्रिभुवन पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारसँग गल्तिएकोमा क्षमा याचना गर्नुभएको छ । घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उपचारलाई सफल बनाउने प्रयास गर्दैगर्दा असफल भएको भन्दै पराजुलीले मृतकको परिवारसँग क्षमा मागनुभएको हो ।

मृतकको पारिवारिक स्रोतका अनुसार अस्पतालले मृतकको परिवारलाइ १५ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यस्तै, मृतकको नाबालिका छोरी रहेकाले उनको उपचार निःशुल्क गर्न अस्पताल सहमत भएको छ । अस्पतालमा रोजगारी गर्न चाहेको खण्डमा मृतकका पतिलाई उनको योग्यताको आधारमा जागिर दिन पनि अस्पताल सहमत भएको र अस्पतालले दिने १५ लाखमध्ये २ लाख किरिया खर्च वापत र १३ लाख छोरीको अध्ययनका लागि भनिएको पनि उनिहरुले बताएका छन् ।

मृतकका आफन्त नन्दलाल पोखरेलले अस्पताल प्रशासनले आफूहरुसँग माथि उल्लेखित क्षतिपूर्ति दिन सहमत भई लिखित सम्झौता गरिसकेको पुष्टि गर्नुभयो ।

आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकाल कोखा दुखेर फेवा सिटीमा विहीबार मध्यान्ह भर्ना हुनुभएको थियो । उहाँको पिशावनलीमा पत्थरी रहेको पत्ता लागेपछि शल्यक्रिया गर्दा ढकालको ज्यान गएको थियो ।

तर अस्पतालका चिकित्सक डा. टुमाया घलेले भने आफुहरुले उपचारमा कुनै त्रुटि नगरेको दावि गर्नुभयो । उहाँले त्रुटि गरेको भए जस्तो सुकै कारबाहिको भागेदार हुन तयार रहेको भन्दै मृतकका परिवारलाई अन्यत्र लगेर शवको पोष्टपार्टम गरि गल्ति भए देखाउन चुनौति पनि दिनुभयो ।

अस्पताल प्रशासन र मृतकको आफन्त बिच भएको सहमतिका सम्बन्धमा भने क्षतिपूर्ति दिने कुरा सुनेको तर यसबारे आँफुलाई अन्य कुनै जानकारी नभएको डा. घलले बताउनुभयो ।

चिकित्सकले आफूहरुबाट कमजोरी नभएको जिकिर गरिरहँदा अस्पताल प्रशासनले भने मृतकको परिवारलाई क्षतिपूर्ति दिन र प्राविधिक त्रुटी स्वीकार गर्न तयार भएको छ ।