नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द

nepali

साउन १५, काठमाण्डौ,

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो ।

स्याटेलाइट राख्ने माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि प्रक्रिया खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले गत वैशाखमा ४ कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेकोमा तोकिएको समयभित्र प्रस्ताव नआएपछि प्रक्रिया नै रद्द गर्नुपरेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब पुनः नयाँ प्रक्रियाबाट नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया सुरु हुनेछ । सरकारले सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउने भन्दै २०७६ को असारमा भू–उपग्रहसम्बन्धी नीति सार्वजनिक गरेको थियो ।
रासस,