एमाले स्थायी कमिटी बैठक आजपनि बस्दै

UML Sthai

साउन १८, काठमाण्डौ,


नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

यसअघि आइतबारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

एमालेले बोलाएका बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन् ।

ओली पक्षले भने एमाले विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावका आधारमा पार्टी एकता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै आएको छ । तर, माधव कुमार नेपालले पनि अस्विकार गर्दै आएका छन् । माधव नेपाल सम्मानजनक एकताको वातावरण नभएसम्म एकता सम्भव नरहेको बताउँदै आएका छन् ।