‘महाराजधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयो’ : माधव नेपाल

madhav-_kumar-_nepal

साउन ८, काठमाण्डौ,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिनुभएको हो ।

नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गएको वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको बताउनुभयो । नेता नेपालले आफ्नो निवासअघि राति मोटरसाइकलमा आएका १५र२० जनाले तर्साउन खोजेको समेत बताउनुभयो । क्रान्तिकारी भाषणले मात्रै नागरिकको मन नजितिने बताउँदै उहाँले क्रान्तिकारी कामले नागरिकको मन जितिने बताउनुभयो ।

नेता नेपालले भन्नुभयो, हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आममाफी दिइन्छ, एम्नेस्टी इज एम्नेस्टी, अनि हामी गदगद भयौँ, महाराजाधिराजोवाच, हामी गदगद भयौँ, वाह वाह वाह, महाराजधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयो, खुसी हुनुपर्ने भयो, यही हो कम्युनिस्ट पद्धति रु स्पष्टीकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ, गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५र२० जनाले तर्साउन खोजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिस्टको, त्यत्तिकै डराउँदैन ।

हिजो बिहीवार पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जनालाई आममाफी दिएको घोषणा गर्नुभएको थियो ।