विपक्षी दलका शीर्ष नेताहरुको बैठकमा आगामि रणनितिबारे छलफल

bipakxi dal

जेठ ११, काठमाण्डौ,

मंगलबार सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका शीर्ष नेताहरुको बैठकमा आगामि रणनितिबारे छलफल भएको छ । बैठकमा सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको हो ।

छलफलमा कांग्रेस सभापति शेरबहादु्र देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी रहेका थिए ।

बैठकबाट बाहिरिने क्रममा छोटो प्रतिक्रिया दिँदै प्रचण्डले सर्वोच्चमा दर्ता गरिएको रिटमा कतिपय परिमार्जन गर्नुपर्ने तथा कतिपय ठेगाना नमिलेकोलगायत प्रविधिक विषयमा मात्रै छलफल भएको बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता रमेश लेखकले सर्वोच्चमा रिट दर्ता भइसकेको र अब बहसमा को–को कानुन व्यवसायीलाई अगाडि बढाउने भन्नेबारे शीर्ष नेताहरुबीच छलफल भएको जानकारी दिनुभयो । बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट दर्ता भएका कारण सर्वोच्चले संसद पुनस्र्थापना गर्ने उहाको दाबी रहेको छ । ’बहुमत सांसदले रिट दर्ता गरेपछि अदालतले पुनर्स्थापना गर्नैपर्छ,’ उहाँले भन्नुभयो ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले)को नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले प्रतिनिधि सभा विघटविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।