गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते सुरु हुने

गण्डकी-प्रदेशसभामा

जेठ ११, पोखरा,

गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमूख सीता कुमारी पौडेल समक्ष सिफारिस गरेको छ ।

गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिवेशन आव्हान गर्न प्रदेश प्रमूख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभएको छ ।

कोरोनाको अवस्था सामान्य बन्दै गएपछि नदिपुरस्थित प्रदेशसभा भवनमै बैठक बस्न थालिएकोमा फेरि पोखरा सभागृहमै अधिवेशन बस्ने भएको छ । नेपालको संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश सरकारले उक्त सिफारिस गरेको मन्त्री बस्नेतले बताउनुभएको छ ।
अल्पमतको सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था पनि रहेको छ । त्यस्तै असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ भने त्यस अगावै नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।

यो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिन नसके अर्को सरकार गठन गर्न विपक्षि गठबन्धनसँग बहुमत नहुँदा यसले गण्डकी पनि मध्यावधिकै बाटोमा जाने देखिएको छ । बजेट अगावै सरकार फेरबदल भएमा वा मुख्यमन्त्रीले बजेट ल्याउन नसकेमा काम चलाउ सरकारले अध्यायदेशमार्फत पनि बजेट ल्याउनुपर्ने अवस्था आउन सक्ने भएको हो ।

गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै वैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो ।