गण्डकीका १४ सहित थप २ सय १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

corona

बैशाख ३०, पोखरा,

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार चार सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार नौ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार चार सय ७४ जनाको पीसीआर र सात सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार नौ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेको छ ।

यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेको छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय सङ्क्रमित छन् ।
यसैबिच
कास्कीका २ सय १० सहित गण्डकी प्रदेशमा थप ५ सय ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार तीन जनाको नमुना परीक्षणमा थप ५ सय ६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका कास्कीका २१० जना, तनहुँका २७ जना, गोरखाका २ जना, लमजुङका २ जना, नवलपुरका ९१ जना, स्याङ्गजाका १६ जना, पर्वतका ११ जना, बाग्लुङका ११९ जना र म्याग्दी जिल्लाका २८ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । गण्डकीमा अहिले ७ हजार ३१ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका मध्ये ८ जना कास्कीको पोखरा महानगरपालिकाका, एक जना दाङ जिल्ला घर भइ हाल पोखरामा उपचारत छन् भने, बाग्लुङ जिल्लाका ४ जना र एक जना म्याग्दी जिल्लाका रहेका छन् । आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३१८ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।