नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने

Nepal-Woman-Volleyball

१ साउन, काठमाडौं


नेपालले आगामी अगष्ट सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन ।
यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।
नेपाल भलिबल संघ (एनभीए)का उपाध्यक्ष निरोज मास्केले नेपालले नखेल्ने भएको तर त्यसबारे थप जानकारी भने नभएको बताउनुभएको छ । पछिल्लो समय बढ्दो दरमा रहेको कोरोना भाइरसको संक्रमणका कारण नेपाललाई समावेश नगरिएको हुन सक्ने उहाँको अनुमान रहेको छ ।
च्याम्पियनसिपका लागि नेपालले एक महिनादेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । शुरुमा २७ खेलाडीले प्रशिक्षण गरेकोमा अहिले १८ खेलाडी प्रशिक्षणमा छन् । पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न खेलाडीदेखि संघ सबै उत्साहित थिए । तर अन्तिम समयमा नेपालको नाम हटेको हो ।