
साउन ३०, कास्की,
मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद वरुण पौडेलका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने क्रममा देखिएको छ ।
मौसमविद पौडेलले भन्नुभयो, ‘केही कमजोर रहेको मनसुनी गतिविधि सक्रिय हुने क्रममा छ । अहिले पूर्व र पश्चिमको तराई क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो तिर मनसुनी गतिविधि सक्रिय पार्ने प्रणाली माथिल्लो क्षेत्रमा पनि सर्ने देखिन्छ ।’
अबको केही दिन देशभर नै सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताए ।
अबको हप्ता देशभर मनसुन सक्रिय हुने भएकाले केही स्थानमा लगातार वर्षा अर्थात झरी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदको सुझाव छ ।