बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्दार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन

krishna chandra chayen

असार १, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्दार र राहतका लागि स्थानीय प्रशासनहरुलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई वसोवासको प्रबन्ध गर्न निर्देशन दिनुभएको हो ।

उहाँले बाढि पहिरोले विस्तापित भएका परिवारको सहयोगकालागि स्थानिय प्रशासनसँग अपुग भएका सामग्री र रकम प्रदेश सरकारले उपलब्ध गराउने बताउनुभएको छ । प्रदेशका धेरैजसो जिल्लामा लगातारको वर्षाका कारण आएको बाढि र पहिरोले करोडौँको क्षति पुर्याएको छ भने दर्जनौँ परिवार विस्थापित भएका छन् ।

प्रदेशभित्रका जिल्लामा पर्ने राजमार्गहरुमा समेत वर्षाकै कारण यातायात सेवा अवरुद्ध हुँदा राहत तथा उद्यारमा पनि कठिनाई भएको प्रदेश प्रहरी प्रधान कार्यालय पोखराले जनाएको छ ।

मुख्यमन्त्री पोखरेलले अबका केही दिन लगातार वर्षा हुने र गण्डकी प्रदेशका जिल्लाहरु त्यसबाट प्रभावित हुने जलवायु तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेकाले सतर्क भएर रहन पनि प्रदेशवासीमा आग्रह गर्नुभएको छ ।

मंगलबार एक विज्ञप्ति निकालेर उहाँले पहाडी भेगमा बाढी पहिरो र तराई तथा समथर क्षेत्रमा भेलबाढीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गर्नुभएको हो ।