स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकतासम्बन्धी दुई दिने गोष्ठी

215513683_4238793352808059_2160403559302239394_n

असार ३१, कास्की


आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा “स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकता”सम्बन्धी गण्डकी प्रदेशस्तरीय दुई दिने गोष्ठी बुधबार सम्पन्न भएको छ ।
मंगलबारदेखि पोखरामा सुरु भएको गोष्ठीको समापनका अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गणेश थकालीले मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रमले उत्प्रेरित गराउने धारणा राख्नुभयो । संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै बाँकी अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने भन्दै उपाध्यक्ष थकालीले मातृभाषा बचाउन आदिवासी जनजाति समुदाय जागृत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महासंघका पूर्व उपाध्यक्ष सूर्यबहादुर भुजेलले अरुलाई आरोपित गरेर मात्रै अघि बढ्न नसकिने धारणा राख्दै सबैसँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राजनैतिक दललाई आदिवासी जनजातिमैत्री बनाउन त्यति सजिलो विषय नभएको भन्दै उहाँले आदिवासी जनजाति समुदायबाट उच्च राजनैतिक नेतृत्व तहमा पुग्न नसकेसम्म समस्याको निकास निस्कन गाह्रो हुने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खेम पुनमगरले आदिवासी जनजातिको पहिचान स्थापित गर्न एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । आदिवासी जनजाति समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षणमा लाग्न आवश्यक रहेको भन्दै अध्यक्ष पुनमगरले आदिवासी जनजाति आन्दोलनलाई नयाँ उचाइमा उठाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी जनजाति आन्दोलनलाई पार्टीमय बनाइएको भन्दै अब पार्टीहरूलाई आदिवासी जनजातिमय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । आदिवासी जनजाति आन्दोलनलाई अघि बढाउन अब नयाँ संकल्पको जरुरी रहेको भन्दै उहाँले मातृभाषामा पठनपाठनका लागि स्थानीय तहलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, नेपाल तामाङ घेदुङका दीपक वाइबा तामाङले आदिवासी जनजाति समुदायको पहिचान र अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताउनुभयो । नेपाल मगर संघ, गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापामगरले आदिवासी जनजाति अधिकारका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न मगर संघ तयार रहेको भन्दै आन्दोलन र राजनीतिलाई युवा पुस्ताले हाँक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
गोष्ठीको समापन गर्दै प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले सरकारको नीति तथा कार्यक्रमलाई आदिवासी जनजाति समुदायको बीचमा पु¥याउने काम प्रतिष्ठानले गर्ने बताउनुभयो । भाषाले देशलाई जोड्ने बताउँदै उपाध्यक्ष घर्तीमगरले सबै मातृभाषाको संरक्षण चुनौतीपूर्ण रहेको बताउनुभयो । आदिवासी जनजाति आन्दोलन अघि बढाउन जनजाति महासंघले पहलकदमी लिनुपर्ने बताउँदै उहाँले आदिवासी जनजाति समुदायलाई संगठित गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका महासचिव सुजन लामा र प्रतिष्ठानकी कर्मचारी विमला गुरुङले पनि बोल्नुभएको थियो । सो अवसरमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आदिवासी जनजाति तथा मातृभाषी अभियन्ता र जनप्रतिनिधि गरी झण्डै ५० जनाको सहभागिता रहेको थियो ।