पत्रकारकारलाई धम्की दिने श्रेष्ठलाई माफी, महासंघ कास्कीको ताला खुल्यो

Shree-Krishna-Shrestha

साउन १८, कास्की,

नेपाल पत्रकार महासंघ कास्कीमा लगाइएको ताला खोलिएको छ । समाचार लेखेकै कारण पत्रकारलाई धम्की आउँदा पनि महासंघ नेतृत्व पीडकको संरक्षणमा लागेको भन्दै शनिबार महासंघको गेटमा ताला लगाइएको थियो ।

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल, कास्कीले शनिबार महासंघमा ताला लगाएको थियो । महासंघले आगामी दिनमा यस्ता घटनामा अभिभावक बनेर पहलकदमी गर्ने बताएपछि ताला खोल्न सहमति जुटेको संगठनका संयोजक अर्जुन गिरीले बताउनुभयो ।

विज्ञप्ति ..

गत ६ साउनमा पोखरा–११ काहुँको एक विद्यालयले सरकारी अनुदानको पुस्तक फर्जी बिल लिएर बेचिरहेको समाचार प्रकाशन भएको थियो ।

समाचारमा असन्तुष्टि जनाउँदै विद्यालयकी प्रअ निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले गण्डक न्यूजका अधिकारीलाई धम्कीपूर्ण फोन, म्यासेज गरेका थिए । आफूलाई धम्की आएको मौखिक जानकारी गराउँदा पनि पत्रकार महासंघले पीडकलाई कानुनी कारबाहीका लागि पहल गरेन । पीडक पक्षले उल्टै मुख्यमन्त्री, सत्तासीन पार्टी काँग्रेसको पावरको धाक लगाउँदै प्रहरीलाई हप्तादिनसम्म दबाब प्रभावमा राखेको थियो ।

यही आशंकालाई बल पुग्ने गरी महासंघ अध्यक्ष बिमला भण्डारी धम्कीपूर्ण म्यासेज पठाउने श्रेष्ठलाई महासंघमा भेटी जिल्ला प्रहरी कार्यालय सँगै लिएर पुगेपछि पत्रकारद्वय अधिकारी र बराल असन्तुष्ट थिए । त्यसपछि प्रेस चौतारी प्रतिवादमा उत्रिएको हो ।

पीडक श्रेष्ठ छुटे, सुवेदीलाई साइबर अपराधको मुद्दा चलाइने

चौतारी आक्रमक प्रस्तुत भएपछि कास्की प्रहरीले धम्की दिने श्रेष्ठलाई शनिबार नियन्त्रणमा लिएको थियो । धम्की दिने श्रेष्ठ एकदिन प्रहरी हिरासतमा बसेर आइतबार छुटेका छन् । पीडक श्रेष्ठले आफूबाट गल्ती भएको महसुस गरी क्षमायाचना गरेपछि पुनः नदोहोरिने शर्तमा अधिकारीले माफी दिएर छुटाउनुभएको हो ।

दुई अनलाइनको नाम नै लिएर समाचारको खण्डन गर्न उत्रिएका आफूलाई पत्रकार बताउने सफल सुवेदीलाई भने साइबर क्राइममा प्रक्रिया अगाडि बढाइने भएको छ । दर्ता नै नभएको अनलाइन
www.reporterseven.com को नामको अफिसियल फेसबुक पेज र युट्युब च्यानलबाट सुवेदीले ३१ मिनेटको भिडियो सार्वजनिक गरेका थिए । जहाँ व्यवसायिक पत्रकार रञ्जन अधिकारीलाई नामै किटेर चरित्र हत्या गरिएको थियो । पछि आफूलाई कानुनी प्रक्रियामा तान्न खोजेको बुझेपछि सुवेदीले भिडियो हटाएका थिए ।

खण्डन गर्न प्रयोग भएको अनलाइन दर्ता नभएको जानकारी प्रेस काउन्सिलबाट आएको र भिडियोमा मानहानी गरेकाले सुवेदीलाई सोमबारदेखि कानुनी प्रक्रिया सुरु गरिने पत्रकार गणेश बरालले बताउनुभयो ।