गण्डकीका ५ सय ४३ जना सहित देशभर ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

update

जेठ २९, पोखरा,

शनिबार गण्डकीमा थप ५४३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८०२ जनामा गरिएको नमुना परीक्षणमा ५४३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेहरुमा कास्की जिल्लाका मात्रै १ सय ५ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ९५७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ८३८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४३ हजार १४६ पुगेको छ ।

त्यस्तै शनिबार पनि गण्डकीमा आठ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा पोखरामा उपचाररत ६ जना सहित गोरखाका र नवलपुरका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८३१ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या पाँच लाख २७ हजार एक सय ११ पुगेको छ । थप ६१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार तीन सय ६६ पुगेको छ । अहिले नेपालमा ७१ हजार तीन सय एक सक्रिय सङ्क्रमित रहेका छन् ।