कोभिड कोषमा गण्डकी सरकारले ४ करोड दिने निर्णय

Corona Fund

बैशाख ३०, कास्की,

नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सपथ ग्रहण लगत्तै पदभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री निवासमा पुगेर उहाले पदभार ग्रहण गर्नुभएको हो ।

आफै कोरोना संक्रमित रहनुभएका उहाँलेले गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गर्नुभएको छ । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएको फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गर्नुभएको थियो ।

ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उहालाई सपथ खुवाउनुभएको हो ।

काँग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । गण्डकीमा एमाले र यी ४ दलसहित ५ दल संसदमा अस्तित्वमा छ । एमालेबाहेक सबै एकातिर उभिँदा टुप्लुक्क बहुमत ३१ मत पुग्ने थियो । तर राष्ट्रिय जनमोर्चाको तर्फबाट एकजनाको हस्ताक्षर भएन । समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर नहुँदा काँग्रेसका कृष्णचन्द्र नेपालीको मुख्यमन्त्री बन्ने सपना तुहिएको हो ।

विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो । तर, राजमोका सांसद कृष्ण थापाले आफ्नो विमति रहेको भन्ने पत्र दर्ता गरेपछि प्रदेश प्रमुखले पुनः एमालेलाई नै सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । बहुमतको सरकार गठन गर्ने प्रतिपक्षी दलहरुको प्रयास असफल भएसँगै विद्यमान ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्नुभएको हो ।