अफगानिस्तानमा तालिबानद्धारा देशका प्रमुख ७ शहर नियन्त्रणमा

afgaan

साउन २७, एजेन्सी,

तालिबान लडाकु समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको तालिबान समूहले दाबी गरेको छ ।

गएको चार दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी नियन्त्रणमा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुत रूपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ ।

यता अमेरिकी राष्ट्रपतिले सेना फिर्ता गरेकोमा पछुतो नभएको बताउनुभएको छ । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यहाँबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताउनुभएको हो ।

यद्यपि बाइडेनले अफगानिस्तानका लागि सङ्घर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी सेनाले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा सात वटालाई नियन्त्रणमा लिइसकेको छ । अन्य सहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ ।