अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण : परराष्ट्र मन्त्रालयले पहल गर्दै

afganistan-nepali

साउन ३१, काठमाण्डौ,

सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले विद्रोही समूह तालिबानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिकहरूको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन गम्भीर भइदिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

आइतवार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली नागरिकहरूलाई सुरक्षित ढङ्गले स्वदेश फिर्ता गराउन जिम्मेवार भइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले अफगानिस्तानमा ठूलो सङ्ख्यामा नेपालीहरू रहेको उल्लेख गर्दै उनीहरूको जीवन सुरक्षा गर्न सरकारलाई संवेदनशील भइदिन पनि पटक–पटक आग्रह गर्नुभयो ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरि नेपाली नागरिकको स्वदेश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गर्नुभयो । उहाँले द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो ।

यस्तै परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा ढिलाइ गर्न नहुने भन्दै अन्य देशका नागरिकलाई फिर्ता बोलाउने काम भइरहँदा पनि नेपाल सरकार त्यसमा संवेदनशील हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
यसैबिच
अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र गठन गरेको छ ।

सो संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यक मन्त्रालयका प्रतिनिधि रहेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले सो संयन्त्रले अनौपचारिक क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्ने जानकारी दिनुभयो ।

सचिव पौडेलले अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक सरकारसँग नरहेको बताउनुभयो । औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको उहाँको भनाई थियो ।