ओली–नेपालको वार्ता सकारात्मक, नेपाल पक्षको राजिनामा टर्यो

madhab oli

बैशाख ३०, काठमाण्डौ,

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बिहीवार दिउँसो बूढानीलकण्ठमा एक व्यवसायीको घरमा छलफल भएको थियो ।

भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा केही दिनका लागि टरेको जानकारी दिनुभयो । छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ ।

बिहीवार बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरे पनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन नसकिने बताइरहेको थियो । नेपाल पक्षका सांसदले आजै चार बजे राजीनामा दिने चेतावनी दिए पनि ओली र नेपालको भेटवार्ताका कारण राजीनामा टरेको छ ।

नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । दुई नेताबीच भएको भेटघाटमा पार्टीभित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।

बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा र पार्टीभित्र महत्त्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो ।