मेलम्चीको बाढीले अहिलेसम्म ६० घरटहरा बगायो, मेलम्ची खानेपानि आयोजनामा २ अर्ब बराबरको क्षति

file

साउन १८, सिन्धुपाल्चोक,

शनिवारदेखि मेलम्ची खोलामा आएको बाढीले अहिलेसम्म ६० घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुङ्ग्रे बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्ग्रे बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिनुभयो । उहाँले जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह गर्नुभयो ।

बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।
यसैबिच
सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले शुक्रबार राति थपिएको बाढीसँगैको पहिरोले मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बनाउन सकिन्छ भन्ने नै अनिश्चित भएको जानकारी दिनुभयो । बाढी पहिरोका कारण मेलम्चीमा १ अर्ब ८८ करोड बराबरको क्षति भएको अनुमान गरिए पनि हेडवर्क्सका पुरिएका संरचनामा भएको क्षति नहेर्दासम्म यकिन लागत अनुमान गर्न गाह्रो पर्ने उहाँले जानकारी दिनुभयो ।