आईतबार बिहान ११ बजे एमाले स्थायी कमिटी बैठक बस्दै

UML-Meeting

साउन २, कास्की

नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि (आईतबार) बस्ने भएको छ । ललितपुरको च्यासलमा रहको तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै भोलिको बैठकमा नेता माधवकुमार नेपाल समूहलाई समेत बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक डाकिएको हो । १४ औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा पर्सि (सोमबार) बिहान ११ बजे बोलाइएको छ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएन । बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो । साथै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।