गण्डकीका थप २ सय ७४ सहित ८ हजार ८ सय भन्दा धेरैले कोरोना जिते

fight with corona

जेठ ८, पोखरा,

पछिल्लो समय थप ८ हजार ८ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको छ ।

यस्तै गएको २४ घण्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१९ हजार तीन सय ५७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा आठ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने सात सय ४८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा तीन सय ८९ जनामा संक्रमण पाइएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोनाका कारण एक सय २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा गण्डकीमा ५२३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २५० जनाको नमुना परीक्षण गर्दा थप ५२३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअनुसार कास्कीका ५१ जना, तनहुँका ५६ जना, गोरखाका ५५ जना, लमजुङका ३२ जना, नवलपुरका १३८ जना र स्याङ्गजाका ८० जना छन् । यस्तै, पर्वतका एक जना, बाग्लुङका छ जना र म्याग्दी जिल्लाका १०४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ६३६ पुगेको छ, जसमा १० हजार ५४ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट २७४ संक्रमणमुक्त भएका छन् । योसंगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २३ हजार ६८ पुगेको छ ।

शनिवार गण्डकीमा थप २१ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका १२ जना, स्याङ्गजाका छ जना, तनहुँका एक जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जना छन् । योसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय १४ पुगेको निर्देशनालयले जनाएको छ ।