कास्कीको अन्नपूर्ण गाउँपालिकाले प्राचीन सम्पदा संरक्षण गर्दै

annapurna-rural-mun-kaski 1

भदौ ४, कास्की,

कास्कीको अन्नपूर्ण गाउँपालिकामा प्राचीन सम्पदा संरक्षण गर्न थालिएको छ । युगौँदेखिको सम्पदा, संस्कार, संस्कृति एवं इतिहासलाई स्मरणीय बनाउने सोचका साथ संरक्षणमा चासो दिइएकोे हो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार जिल्लाकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिरदेखि हिमालपारीको जिल्ला मुक्तिनाथसम्म जोड्ने मार्गको नागडाँडास्थित प्राचीन चौतारासहित १७ ऐतिहासिक चौतारा मर्मत गरिएको छ ।

यहाँ ऐतिहासिक महत्वका ८८ चौतारा र ३८ वटा कुवा तथा पोखरी छन् । तीमध्ये वडा नं २ को रातामाटा, ५ को चिसापानी, ६ लुम्लेस्थित माझखोला र ९ स्थित उल्लेरीको उजेलीलगायत कुवा बस्ती विकास हुँदादेखि नै अस्तित्वमा रहेकाले तिनको विशेष महत्व छ । त्यस्तै ऐतिहासिक मठमन्दिरको सङ्ख्या १५५ छ ।

पर्यावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौतारा संरक्षणका साथै प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा संरक्षणमा जोड दिइएको अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । ऐतिहासिक कुवा, पोखरीको संरक्षणका साथै पर्यावरणीय संरक्षणका लागि बोटबिरुवा रोप्ने क्रमलाई पनि अघि बढाइएको छ ।

वडा नं ११ स्थित समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको ‘हिडन लेक’ स्थित ताल संरक्षण गरिएको छ । वडानं ९ स्थित उल्लेरीको बराह ताल पनि संरक्षण गरिएको उहाले बताउनुभयो ।

वडा नं ४को सल्यानस्थित ताल चियाउने गरामा रहेको ऐतिहासिक पोखरी र वडा नं ५ स्थित शीतल गुफासंरक्षण गरिएको छ । छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरमा कुनै पनि पूर्वाधार विकासका नाममा यान्त्रिक औजार प्रयोग नगर्नाका साथै यस क्षेत्रलाई ‘पर्यावरणीय प्राकृतिक क्षेत्र’ घोषणा गरिएको छ । वडा नं २ रातामाटा चौरस्थित शिवालय मन्दिर परिसरमा १०८ पीपलका बिरुवा रोपिएको छ ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने ऐतिहासिक एवं धार्मिक महत्वको बराह संरक्षणका लागि गाउँपालिकाले चालु आवमा रू १० लाख विनियोजन गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो ।

यस्ता सम्पदाले यहाँको ऐतिहासिक महत्वसमेतलाई उजागर गर्ने भएकाले तीनवटै तहका सरकारले चासो दिनुपर्ने उहाले बताउनुभयो । छोम्रोङमा ध्यान केन्द्र निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख उपलब्ध गराएको व्यावसायी गुरुङले उल्लेख गर्नुभयो ।