सबै स्वास्थ्य संस्थालाई सेवा शुल्क सार्वजनिक गर्न सरकारको निर्देशन

hlth 1

जेठ १८, कास्की,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्रमा सेवा र शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमणको विषम परिस्थितिमा कतिपय स्वास्थ्य संस्थाहरूले बिरामीको उपचार बापत चर्को शुल्क असुल उपर गरेको, अक्सिजनको मूल्य अत्यधिक लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामी माथि थप आर्थिक भार पारेको, बिरामीलाई नै उपचार सामग्रीको बन्दोबस्त गर्न लगाएको लगायत गुनासा आएपछि सेवा शुल्क सार्वजनिक गर्न भनिएको मन्त्रालयको गुणस्तर, मापन तथा नियमन महाशाखाले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महाशाखा प्रमुख डा मदन कुमार उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सात दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची अनिवार्य रूपमा सार्वजनिक गर्न भनिएको हो ।

उक्त मूल्य सूची सञ्चालक समिति, बोर्ड, आधिकारिक निकायबाट निर्णय गराई आ–आफ्नो वेब साइट मार्फत सार्वजनिक गर्ने, सूचना पाटीमा सबैले देख्ने गरी राख्ने र त्यसको जानकारी स्वास्थ्य सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन पनि अनुरोध गरिएको छ ।