माधव नेपाल र महन्थ ठाकुर दुबै समूहको पार्टिको नाम परिवर्तन : निर्वाचन आयोगले भदौ ९ गते सनाखत गर्ने

Nirbachan aayog

भदौ ४, काठमाण्डौ,

माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको दलको नाम नेकपा एमाले (समाजवादी) को नाम फेरिने भएको छ ।

निर्वाचन आयोगले मूल पार्टीसँग जुध्ने नाम कानुनी रूपमा दिन नमिल्ने सुझाएपछि नेपाल समूहले आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एमालेबाट फुटेको नेता नेपाल समूहले गएको बुधवार नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । यसअघि नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो ।

नेता नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरू आयोग पुगेका थिए । नियमावली र ऐनअनुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न दोहोरिएर राख्न नमिल्ने व्यवस्था छ ।

त्यस्तै महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ । गएको बुधवार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा (लोकतान्त्रिक) पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज शुक्रवार नाम फेरेको हो ।
यसैबिच
निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो ।

भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।