गण्डकीमा थप ६ सय ८० जनामा कारोना संक्रमण, देशभर सक्रिय संक्रमित १ लाख भन्दा कम

update

जेठ २१, पोखरा

शुक्रबार गण्डकी प्रदेशका थप ६८० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ५५४ जनामा गरिएको नमुना परीक्षणमा ६ सय ८० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप पुष्टि भएका संक्रमितसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार ४२१ पुगेको छ । २४ घण्टामा ९४६ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार २५० पुगेको छ ।

त्यस्तै शुक्रबार पनि गण्डकीमा १० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका विभिन्न अस्पतालमा उपचाररतसात जना सहित म्याग्दीका दुई जना र नवलपुरका एकजना रहेका छन् । गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ सय ३३ पुगेको निर्देशनालयले जनाएको छ ।

यसैबिच देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ६३ जना निको भएसँगै नेपालमा ९७ हजार ६ सय ९९ जनामा झरेको हो । अहिलेसम्म नेपालमा चार लाख ७६ हजार एक सय ३० जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये झन्डै ३२ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार एक सय ८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६ सय २४ जना र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परिक्षण गर्दा दुई हजार २९ जना गरी ६ हजार ६ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ८१ हजार पाँच सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएको सहित थप एक सय एक जनाको कोरोनाका कारण ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार सात सय ३१ पुगेको छ ।