“अब पुत्ला जलाएर हुँदैन” : निवर्तमान मुख्यमन्त्री गुरुङ

yuwa-sang-nepal

साउन ९, कास्की

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले पोखरामा कार्यालय उद्घाटन गरेको छ । आज (शनिबार) एक समारोहका बिच गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

पोखरामहानगरपालिका वडा नं.–९ स्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले) गण्डकी प्रदेश इञ्चार्ज समेत रहनुभएका गुरुङले देशको युगान्तकारी परिवर्तनमा उल्लेखनिय योगदान रहेको बताउनुभएको छ ।

उहाँले युवाहरुलाई रचनात्मक तवरले वर्तमान राजनीतिक चलखेलको प्रतिकार गर्न समेत सुझाब दिनुभएको छ । ‘अब पुत्ला जलाएर हुँदैन, त्यो फेज आउट भैसक्यो । अब भएका गलत कुराहरु, के कारणले गलत भयो ? कसरी गलत भयो ? त्यो जनतालाई बुझाउन आवश्यक छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले युवा एकतालाई थप सुदृढ गराउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य राजीब पहारीले केन्द्र देखि स्थानिय तहसम्मका संगठनमा उमेर हद तोक्नुपर्ने बताउनुभएको छ ।

समारोहमा बोल्दै राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका संयोजक महेन्द्र गुरुङले युवा संघका कार्यक्रमहरु ध्वंसात्मक नहुने साथै देशमा राजनीतिक स्थायीत्व स्थापनार्थ युवा संघले अब रचनात्मक कार्यक्रमहरु गर्ने बताउनुभएको छ ।