कास्कीमा हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि आवश्यक उपकरण र जनशक्ति नहुँदा समस्या

catch-tiger

साउन २२, कास्की,

कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा एक चितुवालाई नियन्त्रणमा लिईएको छ । दुईदिनदेखि चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिएर आज डिभिजन वन कार्यालय पु¥याइएको हो ।

चितुवालाई स्थानीयवासीले पटकपटक लखेटे पनि शुक्रबार अन्नपूर्ण–३ पाउँदुर क्षेत्रको पोखरा–बागलुङ राजमार्गमा पुनःभेटिएपछि प्रहरी तथा डिभिजन वन कार्यालयमा खबर गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षअघि सोही गाउँपालिकाकै रयालेमा चितुवाले मानिसलाई आक्रमण गरेको थियो ।

पछिल्ला वर्षमा कास्की सहित आसपासका जिल्लामा चितुवा गाउँ बस्तीमा प्रवेश गर्ने र मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत असारमा पोखरा महानगरपालिका–८ स्थित नागबेली टोलमा चितुवा छिरेपछि वन कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यसैबिच अहिले त जसोतसो चितुवा नियन्त्रणमा लिईएपनि हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि वन कार्यालयमा उपकरण र दक्ष जनशक्ति नभएको वन अधिकृत केदार बरालले गुनासो गर्नुभयो ।

चितुवा जस्ता हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि डार्ट चाहिने भएपनि यो उपकरण डिभिजन वन कार्यालयमा उपलब्ध नभएको उहाँले बताउनुभयो ।

वन्यजन्तुलाई सहजै पासोमा पारेर नियन्त्रण गर्न सकिने उपकरण (डार्ट) मगाउनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय जस्ता निकायको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था रहेकोले पनि हालसम्म कुनै पनि डिभिजन वन कार्यालयमा सो उपकरण उपलब्ध हुन नसकेको बरालको भनाई छ ।

“चितुवा बस्ती पसेपछि शुरुमा सर्वसाधारणले डिभिजन वन कार्यालयमा खबर गर्दछन्”, उहाँले भन्नुभयो, “खबर आइसकेपछि विनाउपकरण तथा दक्ष जनशक्ति नहुँदा आफूलाई नै असुरक्षित बनाएर हामीले सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर उसको प्राकृतिक बासस्थानमा छाड्ने गरेका छौँ ।”

पछिल्ला वर्षमा चितुवा बस्तीमा पस्नेक्रम बढेपछि सो उपकरणको व्यवस्थाका लागि माग गरिँदै आए पनि त्यसको हालसम्म सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ ।

प्रदेश सरकारमार्फत बस्ती छिर्ने हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि तत्काल डिभिजन वन कार्यालयमा डार्टका साथै सुरक्षा उपकरण र त्यससम्बन्धी तालिम रेपिड रेस्पोन्स टोलीको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उहाँले बताउनुभयो ।