कास्कीमा ८७ हजार भन्दा धेरैले कोरोनाविरुद्धको दुवै डोज खोप लगाए

khop-1

साउन २७, कास्की,

कास्की जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् ।

कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

एक मात्रामात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २५ हजार जनाले लगाएका छन् । उक्त खोप २५ हजार १५० मात्रा प्राप्त भएकामा १५० खोप वैदेशिक रोजगारीमा जानेहरुकालागि सुरक्षित राखिएको छ ।

यस्तै कास्की जिल्लामा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ३२ हजारलाई पाँच महिनापछि दोस्रो मात्राको खोप दिन लागिएको छ ।

दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि अस्ट्राजेनिकाको खोप दिइने उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख आचार्यका अनुसार अस्ट्राजेनिकाको ३२ हजार मात्रा खोप प्राप्त भइसकेको छ भने भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम सकिएपछि कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई केही दिनमै दोस्रो डोज दिन शुरु गरिने छ ।