प्रधानमन्त्री ज्यू सँगै मिलेर जनता बचाउँ : गगन थापा

Gagan Thapa

जेठ १ , पोखरा,

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान जारी कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गर्नुभएको छ ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दैै प्रधानमन्त्री ओलीलाई केही दिनका लागि पार्टी भित्रको विवाद मिलाउने र चर्काउने काम छाडिदिन पनि आग्रह गर्नुभएको हो ।

नेता थापाले प्रधानमन्त्रीमा पुनःनियुक्तिसँगै कोरोना महामारीविरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारी फेरि पनि ओलीको काँधमा आएको समेत बताउनुभएको छ ।

‘यो महामारीबाट हामीले धेरै जीवन गुमाइ सकेका छौं । अझ कति गुमाउने हो थाहा छैन । यीमध्ये धेरैलाई बचाउन सकिन्थ्यो । अझै पनि बचाउन सकिन्छ,’ थापाले भन्नुभएको छ ‘तर, कामनाले मात्रै यो सम्भव छैन, काम चाहिएको छ । प्रार्थनाले मात्रै सम्भव छैन, तपाईं हाम्रो प्रयत्न चाहिएको छ ।’ थापाले ओलि प्रति लक्षित गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले केही दिनका लागि बोल्न समेत छाडिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै सम्पूर्ण शक्ति र समय यही महामारीविरुद्धको युद्धमा लगाउनु पर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीका विचार र व्यवहार तथा वचन र कर्मप्रति आफ्ना पनि थुप्रै असन्तुष्टि रहेको उल्लेख गर्दै थापाले कोरोनाविरुद्धको युद्धमा लाग्नका लागि आफू आफ्ना असहमतिहरुलाई थाती राख्न तयार रहेको समेत बताउनुभएको छ ।