सरकारले सुरुमै जनविरोधी काम गरेको एमाले अध्यक्ष ओलिको आरोप

oli

साउन २६, काठमाण्डौ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकारले सुरुमै जनविरोधी काम गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै अध्यक्ष ओलीले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाउनुभएको हो ।

ओलीले सरकारले एक महिनासम्म केही काम नगरि बधाई साटासाट गरेर मात्रै बसेको भन्दै साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरेकोमा आश्चर्य व्यक्त गर्नुभयो । उहाँले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको छ ।

यस्तै ओलीले लिम्यिाधुरा, लिपुलेक र कालापानीको भू–भाग फिर्ता ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ । उहाँले साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समस्याको रुपमा देखाइएकोमा आपत्ति जनाउँदै ती भू–भाग फिर्ता ल्याउन चुनौति दिनुभएको हो ।

त्यस्तै आफ्नै पार्टीका केही सांसदले मन्त्री बन्न पाउँ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग हारगुहार गरिरहेको भन्दै ओलिले चाकडी गरिरहेका एमाले सांसदलाई पनि मन्त्री बनाइदिन दुई हात नै जोडेर आग्रह गर्नुभयो ।