शुक्रबार सम्मै भारी वर्षाको सम्भावना, विपत् प्रतिकार्यका लागि देशभरका सबै प्रहरी कार्यालयमा ’छुट्टै’ युनिट

barsa

असार २, पोखरा

मनसुन सक्रिय भएपछि जारी अविरल वर्षासँगको बाढी र पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । यसैबिच मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्मै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशका धेरै ठाउँमा अझै भारी वर्षा हुने आकलन गरिएपछि नेपाल प्रहरीले विपत् प्रतिकार्यका लागि विशेष संरचना नै तयार गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले देशका सबै प्रहरी कार्यालयमा विपत् प्रतिकार्यका लागि ‘स्पेसीफाइड युनिट’ बनाइएको जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयसहित देशभरका सबै युनिटहरुमा गरी १० हजार जनालाई विपत् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको प्रवक्ता कुँवरले बताउनुभयो ।

प्रवक्ता कुँवरका अनुसार विपत् प्रतिकार्यका लागि हरेक प्रहरी चौकीमा ४, यस्तै, हरेक इलाका प्रहरी कार्यालयहरुमा ७ र जिल्ला प्रहरी कार्यालयहरुमा १५ जनाको युनिट बनाइएको छ ।

यस्तै, हरेक संघीय प्रहरी इकाइ र प्रदेश प्रहरी कार्यालयमा पनि ३०–३० जनाको विपत् प्रतिकार्य युनिट बनाइएको छ । विपत् प्रतिकार्यका लागि छुट्टै युनिट बनाइए पनि आवश्यकताअनुसार थप जनशक्ति पनि परिचालन गरिने प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो ।
यसैबिच
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीको समस्यामा परेमा तत्काल उद्धारका लागि ११४९ मा सम्पर्क गरी सहायता लिन अनुरोध गरेको छ । त्यस्तै देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा सम्पर्क गर्न सकिने पनि प्राधिकरणले जनाएको छ ।