गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिन सक्ने

Prithivi-subba-gurung

बैशाख २९, पोखरा,

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा पार्टीको निर्णय विपरित उभिएपछि बहुमतको सरकार बनाउन विपक्षी दललाई सकस भएको हो ।

जनमोर्चाले गण्डकी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा उभिने र विपक्षी गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि पनि जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही मतदानकै दिन अस्पताल भर्ना भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो । जनमोर्चाका सांसद थापाले समर्थन नगरेमा विपक्षी गठबन्धनमा ३० सांसद मात्रै रहनेछ ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि ३ दिनको समय दिनुभएको थियो । ३ दिनको समय आज सकिँदै छ । बहुमतको आधारमा नयाँ सरकार गठन हुन नसके अल्पमतको सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

नयाँ मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र केसीलाई अघि सारिएको छ । गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेका स्वतन्त्र सांसद दिपक मनांगेसहित २८ सांसद रहेका छन् । अल्पमतको सरकारको गठन प्रक्रिया सुरु भएमा फेरि पनि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहोरिने सम्भावना देखिएको छ ।